Friday, November 10, 2017

खगेन्द्रका कथा


कार्तिक २४, २०७४-‘आकस्मिक सुरुआत र अप्रत्याशित अन्त्य नै कथाको मूल रूप भए पनि त्यसैमा बाँधिरहनुपर्छ भन्ने छैन,’ प्रा.डा. टंक न्यौपानेले खगेन्द्र थापाको नयाँ कथा संग्रह ‘अतिक्रमण’ लोकार्पण गरिसकेपछि भने, ‘कथाकारले कथामा घटनाभन्दा बढी चरित्रबाट कथालाई उजागर गरेका छन् ।’
‘जागिर लिलामको सूचना’ कथा पढेपछि अरू पाँच/छ कथा आफूले खरर पढेको उनले बताए । कथाले तान्ने भएकाले नै कथाकार ‘अतिक्रमण’ मा सफल रहेको टिप्पणी गरे । अच्छा राई रसिक साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार वियोग सापकोटाको लिखित अभिव्यक्ति कवि टीका आत्रेयले वाचन गरिन् । संग्रह निकाल्नु आफैंमा चुनौती भएकाले पहिलो सफलता लेखकले पाएको सापकोटाको टिप्पणी थियो । कथाको उठान, पृष्ठभूमि र भाषा अत्यन्त राम्रो भए पनि केही कथा लामा भएको भन्दै उनले फेसबुक र ट्वीटरको जमाना युवापुस्तालाई आकर्षित गर्न कथा छोटो हुनुपर्नेमा जोड दिएका थिए ।

१९ सिर्जना रहेको ‘अतिक्रमण’ मा कथालाई क्लाइमेक्समा छाडिदिनाले पाठकहरू अलि अलमलिने रमेश घिमिरेले औँल्याए । शिक्षासेवी लेखनाथ न्यौपानेले केही कथा आत्मा छुने रहेको ठोकुवा गरे । एउटा निम्न तहको कर्मचारीको पीडा, जनयुद्धको चेपुवा, विदेश गएर ज्याला–मजदुरी गर्ने तर नेपाल आएर फाइँफुट्टी लगाउने चरित्रलाई कथाकारले टिपेको कवि अनिल पौडेलले बताए ।
धनकुटामा जन्मेका कथाकार थापा सेवानिवृत्त निजामती कर्मचारी हुन् । यसका उनका गीत संग्रह र एल्बम निस्किसकेका छन् ।

No comments:

Post a Comment